Share This Article
कथा सुरु हुन्छ एउटा यस्तो घरबाट जहाँ बाबु-आमा र तिनीहरूको एक मात्र छोरो सँगै बस्छन्। त्यो छोरो हो—अर्जुन।
अर्जुन जन्मिँदैदेखि नै बाबु-आमाको अँजुलीमा हुर्किएको, आमाको मुटुमा समाएको छोरो। सानैदेखि उहाँहरूको सबैभन्दा नजिकको साथी। ऊ सधैँ आमासँगै सुत्थ्यो। कहिल्यै पनि एक्लै सुत्न सक्दैनथ्यो। साँझ परेपछि “आमा, मेरो छेउमै सुत न है!” भनेर ढुक्क भई निदाउने ऊ—त्यो न्यानो ममताको घेराभित्र।
उपलव्धिहरू, चाहनाहरू, डरहरू—सबै कुरा अर्जुन आमासँग बाँड्थ्यो। स्कुलमा के भयो, साथीहरूसँग के कुरा भयो, भोलिको तयारी के हो—सबै आमालाई सुनाइन्थ्यो। बाबुसँग ऊ कहिलेकाहीँ माग गर्थ्यो—”बाबा, मलाई यो साइकल चाहिन्छ”, “बाबा, नयाँ झोला किनिदिनु न!”—र बाबु, जे सकिन्छ, दिन प्रयास गर्नुहुन्थ्यो। बाबु उसको लागि प्रेरणा काे श्रोत हो। बाबु लाई आफ्नो जीवनको अनमोल रत्न ठानी उ जीवनमा अघि बढ्ने क्रममा छ।
समय बित्दै गयो। सन् २०१६ मा अर्जुनको विवाह भयो। उहाँको जीवनमा अब आयिन्—सावित्री। सौम्य स्वभावकी, मीठो बोलीकी, जसले परिवारलाई अझ नजिक ल्याइन्। बाबु-आमा उनलाई पनि छोरीसरह माया गर्न थाले।
चारजना सदस्य भएको त्यो परिवार साँच्चिकै सुखी थियो। ७ सेप्टेम्बर २०१७ मा तिनको जीवनमा एउटा नयाँ खुसियाली आयो—छोराको रूपमा। उसको नाम राखियो- प्रतीक। साँच्चैनै दुबैको प्रेमको प्रतीक।
जिन्दगी झनै रमाइलो भयो। बाबु, आमा, अर्जुन, सावित्री र सानो प्रतीक—सबै मिलेर एउटा सुन्दर संसार बनाएका थिए।
तर… जीवन सधैँ एकै रङको हुँदैन l
सन् २०१८ को एक बिहान, अचानक अर्जुनकी आमा मुर्छित भइन्। अस्पताल पुर्याइए पनि हृदयघातले उहाँलाई लिएको थियो। चिकित्सकको त्यो वाक्यले—”हामीले बचाउन सकेनौँ…”—अर्जुनको संसार भत्कियो। अर्जुन पहरा देखिन झरे जस्तै भयो।

त्यो दिनदेखि अर्जुनको घरका भित्ताहरू मौन भए। त्यो हाँसो, त्यो गफ, त्यो न्यानोपन, सबै खुसी हरु हरायो।
अब आमाको न्यानो अँगालो छैन। रात पर्दा आँखा चिम्लिए पनि निद्रा आउँदैन। कहिलेकाहीँ ऊ उठेर कुर्सीमा बस्छ, र सुस्केरा हाल्छ।
“आमा, आज म कार्यालयमा कति राम्रो काम गरेँ… सुनाउँथे नि तिमीलाई!”
अब अर्जुनले ती कुरा सावित्रीसँग भन्नेगर्छन। पत्नीले शान्त मुस्कानसहित सुनिदिन्छिन्। तर अर्जुन जान्दछ—त्यो अनुभूति फरक हो।
बाबु सेवा निवृत्त भएपछि सानो नातीसँग रमाउन थाले। प्रतीकसंग खेल्दै, रमाइलो गर्दै आफ्नो बुढ्यौली पार गर्दै छन्। अर्जुन खुशी छ, तर त्यो खुशी अधुरो छ।
कहिलेकाहीँ ऊ कामबाट फर्केर ढोकामै उभिन्छ र सम्झन्छ, “म घर फर्किँदा आमा ढोकामै आउनुहुन्थ्यो, ‘आइज छोरा, थाकिस् होला’ भन्दिनुहुन्थ्यो।”
अब त्यो स्वर छैन। अर्जुन आफूलाई बच्चा झैँ अनुभव गर्छ—एक्लो बच्चा, जसको आमा हराइन्।
अर्जुन आफूलाई सम्हाल्छ। अब ऊ आफ्ना कुराहरू पत्नीलाई सुनाउँछ। जसरी कहिल्यै आमालाई सुनाउँथ्यो—“आज म संगै डिनरमा एक जना ठूलो अफिसर थिए, आमाले त खुब खुसी हुनुहुन्थ्यो!”
सावित्री मुस्क्याउँदै भन्छिन्, “म छु नि सुनिदिन तिमीलाई। तिम्रो हरेक कुरा लाई मा आफ्नो मन देखिन् सुन्ने छु l”
त्यो शब्दले अर्जुनलाई मलम लगाउँछ, तर आमा त फेरि फर्किन्न।
कहिलेकाहीँ ऊ छोरासँग बसेर भन्छ, “प्रतीक, तँलाई थाहा छ? तेरो हजुरआमा मलाई कति माया गर्नुहुन्थ्यो!”
प्रतीक मुस्क्याउँछ, बुझ्दैन पूर्णरूपमा, तर अर्जुनको मुटु भरिन्छ।
हरेक सालको आमाको वार्षिक पुण्यतिथिमा अर्जुन एउटा चिठी लेख्छ—”आमा, म तिमीलाई कति सम्झन्छु, तिमी भए कति कुरा गर्थ्यौँ होला…”।
तर त्यो चिठी कहिल्यै पठाइन्न, साँचेर राखिन्छ हृदयमा।
अन्त्य:
अर्जुन जस्ता हरेक छोरा आफ्नो आमाको लागि बच्चा नै हुन्छ। आमाको मायाले हुर्केका हाम्रा भावना कहिल्यै ठूला हुँदैनन्। जीवन अघि बढ्छ, तर केही कमीहरू सधैँ मनमा रहिरहन्छन्। अर्जुन त्यो कमी आफ्नो परिवारसँगको प्रेमबाट पूर्ति गर्न खोज्छ। आमाको सम्झनामा, आमाको मुस्कानमा, उसले आफैँलाई भेट्छ—”म मेरो आमाको छोरो”
